गोकुल बानियाँ , पोखरा २६ जेठ । सडकको धुलोले घरमा बस्न सक्ने अबस्था नभएपछि पोखराको जिरो विन्ध्यावासिनी सडक खण्डका स्थानीय आजित भएका छन् । निर्माणधिन सडकबाट उडेको धुलो घर र पसल भित्र पसेर बस्न नसक्ने भएपछि उनीहरुले सडकनै बन्द गर्न निस्किए ।

निर्माण सुरु भएको लामो समय हुदा पनि सम्पन्न नभएको र धुलोका कारण कठिनाइ भोग्नुपरेकाले बाध्य भएर सडक बन्द गर्नुपरेको उनीहरुको गुनासो छ । अत्याधिक धुलोकै कारण सडक छेउमा बसोवास गर्ने कतिपय मानिस विरामी पर्न थालेको, पसल खोलेर ब्यापार ब्यवसाय गर्न नसकेको तथा घरभित्र समेत बस्न सक्ने अबस्था नभएको स्थानीयले बताए ।

‘रोडको छेउमा घर छ । यो बाटो समयमा नबन्दा धेरै कठिनाइ भोग्नुपरेको छ । धुलो उडेर वारीको पारी मान्छे देख्न सक्ने अबस्था हुन्न’, एक स्थानीयले भने ‘खाने कुरामा धुलो, घर भित्र धुलो, धुलोका कारण कतिपय बिरामी परेका छन् ।’

धुलो नियन्त्रण गरी छिटो निर्माण कार्य सम्पन्न गर्न सडक विभाग र सम्बन्धित निर्माण कम्पनीलाई पटक पटक आग्रह गर्दापनि सुनुवाई नभएको स्थानीयले बताए ।

पोखरा बाग्लुङ भूपी शेरचन राजमार्ग अन्तर्गत जिरो किलोमिटर देखि विन्ध्यावासिनी सडक बिस्तारको लागि निर्माण सम्झौता भएको दुई बर्ष सम्मपनि काम सम्पन्न नहुन स्थानीय आक्रोसित छन् । आयोजना समयमा सम्पन्न गर्न नसक्नु सडक विभाग र सम्बन्धित निर्माण कम्पनीको कमजोरी भएको उनीहरुको ठहर छ ।

तर सडक विभागले अबको झण्डै दुई सातामा बाटो कालोपत्रे हुने जनाएको छ । डिभिजन सडक कार्यालय पोखराका इन्जिनियर नवराज बास्तोलाले कालोपत्रे गर्ने काम सुरु भएको र दुई साताभित्र सम्पन्न हुने बताए । असफाल्ट कंक्रिट प्लान्ट प्रविधिबाट पोखरामा पहिलो पटक सडक पिच गर्न लागिएको उनले बताए । यो प्रबिधिबाट कालोपत्रे गर्दा थोरै समयमा काम सम्पन्न हुने उनको दावि छ । बिन्ध्यावासिनी क्षेत्रबाट कालोपत्रेको काम सुरु गरिएको छ । झण्डै तीन किलोमिटर लम्बाइको यो सडक चार लेनको बन्ने क्रममा छ ।

सडक विस्तारको लागि हेटौडाको रमण मृत सञ्जिवनी कम्पनीले २०७१ असार ३० गते निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ असार ३० गते सम्पन्न गर्नुपर्ने भएपनि भूकम्प र नाकाबन्दीका कारण म्याद थप गरी आगामी असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । सो सडक खण्ड विस्तारका लागि कुल १३ करोढ ३९ लाखमा निर्माण सम्झौता भएको थियो । तस्विर : प्रदिप पौडेल