आज विश्व वातावरण दिवसको अवसर परेर चलचित्र 'लाल्टिन' टिम र दारी ग्यांगले संयुक्त रुपमा साइकल र्‍यालीको आयोजना गरेका छन् । 'स्वास्थ्यका लागि स्वच्छ वातावरण र स्वच्छ वातावरणका लागि साइकल' भन्ने नारा सहित उक्त र्‍यालीको आयोजना गरिएको थियो । चलचित्रका कलाकार निर्जन थापा, राज कटुवाल, जनक बर्तौला लगायत निर्माता टिम भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी सहित चलचित्रका अन्य कलाकार पनि उक्त र्‍यालीमा सहभागी भएका थिए । र्‍याली ठमेलबाट सुरु भएर लैनचौर हुदै पुतलीसडक, अनामनगर, माइतीघर हुदै फेरी ठमेलमै गएर सम्पन्न भएको थियो । र्‍याली निकै उत्साहजनक रुपमा सम्पन्न भएको दारी ग्यांगका एडमीन अभिषेकले बताए ।

यहि जेष्ठ २६ गते प्रर्दशनमा आउन लागेको चलचित्र 'लाल्टिन'को प्रचारप्रसारको साथमा वातावरण सम्बन्धी जनचेतना पनि होस् भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग साही, जनक बर्तौला, ए. गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई भानु प्रताप , अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र जेष्ठ २६ गते प्रर्दशनमा आउदैछ ।