नवराज पराजुली

आमाले छोरालाई लेखेको कविता

 

 

छोरा!
सिमेन्टको सेतो खाली बोरा बोकेर
धानको सिला खोज्न जाँदा 
तिमी पाइलैपिच्छे भेट्थ्यौ 
नरुवाको घाँटीमा सुनको सिक्री बनेर निदाइरहेका
धानका पहेँला बालाहरु

त्यसरी नै पाइलैपिच्छे भेटिरहनु
तिमीले जिन्दगीको खेतमा खोजेका 
सपनाका सिलाहरु 

हेब्बी बड्डे मेरो छोरा!

बिहेको भोलिपल्टै 
मैतालु फर्काउन जाँदा 
माइतिघरको आँगन टेक्ने बेलामा 
छोरीको सिउँदो पहिलोपल्ट जसरी मुस्कुराउँछ
त्यसरी नै मुस्कुराउन्
तिम्रो विपनाका गालाहरु

सपनामा पनि, विपनामा पनि 
सारा दुनियाँले तिम्रो नाम त्यसरी दोहोर्‍याओस्
जसरि तिमी सानो छँदा 
तिमीले सिकेका नयाँ शब्द 
दिनरात दोहोर्‍यारहन्थ्यौ

हेब्बी बड्डे मेरो छोरा!

आज तिम्रो जन्मदिनमा दिन म अरु केही सक्दिनँ 
तिमीलाई सम्झिनबाहेक,

तिमीलाई त म
तिमी जन्मिनुभन्दा धेरै अघिदेखि सम्झिरहेकी छु,

बाडुलीले यादलाई
कसरी बिर्सन सक्छे र?


हामीलाई प्रौढ शिक्षा पढाउने 
गीता भण्डारी बैनीले 
'काकी, तपाईं सुरुमा कसको नाम लेख्न सिक्नुहुन्छ ?' भनेर सोध्दा 
मेरा ओठले 
तिमीलाई सम्झिन्छन्

अम्बाको रुखमुनी घाँस काट्न जाँदा 
सुगाले 
आधा अम्बा खाएर आधा झार्छ,
सुगाको जुठो हँसियाले फाल्दै 
बाँकी अम्बा टोक्न खोज्दा
मेरो जिब्रोले 
तिमीलाई सम्झिन्छ


मैले साँझ–बिहान गाई दुहुन बस्दा
ठूलो बाल्टीको छेउमा 
सानो गिलास लिएर 
आजभोलि आउदैन कुनै सानो मान्छे 
तर पनि
बाच्छोले चपचप पार्दै थुन तानेको सुनेपछि
मेरा कानले तिमीलाई सम्झिन्छन्

घरैअघिको बाटैबाटो
तिमीजस्तै कोहीआउँदै गरेको देखेपछि
मेरा पैतालाले सम्झिन्छन् तिमीलाई,
अनि
त्यो आउँदै गरेको मान्छे 
तिमी हैनौ भनेर अरुले भन्दिएपछि
मेरा परेलीले सम्झिन्छन् तिमीलाई।

तिमीले तिम्रो 'मेरो सेरोफेरो' किताब हराउँदा 
मेरो सेरोफेरो आउन डराउँदै तिमी
जुन खाँबोको सेरोफेरो घुमेथ्यौ 
अहिले त्यो खाँबो बुढो भएको छ,
त्यो रोगी बुढो खाँबोले
उसको दुखिरहने घुँडा खोच्याउनाले गर्दा 
अहिले हाम्रो घर ढकाल बा जस्तै कुप्रो भएको छ

ढकाल बासँग त लौरो छ 
हाम्रो घरसँग छैन ,

एकादशी एकादशीमा 
त्यो बुढो खाँबोको सेरोफेरो गोबरले पोत्दा 
मेरा हत्केलाका रेखाले तिमीलाई सम्झन्छन्

शनिबार खल्याङमल्याङ जिउ नुहाइसकेपछि 
जुन गुन्द्रीमा सुतेर तिमी 
मलाई तिम्रो कानमा तेल हाल्न लगाएर 
तिम्रो कान कुर्र… पार्न लगाउँथ्यौ
अहिले म 
त्यही गुन्द्रीमा धान सुकाउँछु,
सुकेको धान बोरामा उठाउँदा 
त्यो बोराको मुखले 
भोको मुख लगाएर मेरो मुखमा टुलुटुलु हेरिरहन्छ,

फुल्याउँदै फुल्याउँदै 
बोराको त्यो भोको मुख बाँध्दा 
मेरा औंलाले तिमीलाई सम्झन्छन्

सम्झिरहेकी म 
कुनैकुनै दिन 
तिमीलाई सम्झन बिर्सन्छु 
अण्डा पारिरहेकी कुखुरीले 
कुनैकुनै दिन 
अण्डा पार्न बिर्सन्छे,

बिर्सेको दिनको भोलिपल्ट 
कुखुराको पोथीले 
भित्र दुइटा रानी भएको दुई गुना ठुलो अण्डा पार्छे

मेरो राजालाई बिर्सेको दिनको भोलिपल्ट 
मेरा आँखा 
अरु दिनभन्दा दुई गुना बढी ठूला हुन्छन् "

प्रस्तुत कबिता पौष २३ को सेतोपाटिबाट साभार गरिएको हो । 
सम्झिँदै जाँदा म सम्झिन्छु
तिमीलाई मैले ...
खै कुन्नि कति कक्षासम्म पढाएकी थिएँ,

तिमीले पढेका अक्षर र अंकहरु किन्न 
मैले फर्सीका बियाँ बेचेकी थिएँ ,
त्यसैले त म चाहन्छु 
तिम्रो जिन्दगीको बेलोमा
प्रगतिका गतिला-गतिला गट्टाहरु लागुन्

तिमीले पढेका अक्षर र अंकहरु किन्न 
मैले बोडीको बीउ बेचेकी थिएँ 
त्यसैले त म सधैँ चाहन्छु
तिम्रो जिन्दगीका लहराहरुमा 
रहरका करोडौँ कोसाहरु झुण्डिरहुन्,


तिमीले पढेका अक्षर र अंकहरु किन्न 
मैले कुखुराका अण्डा बेचेकी थिएँ 
त्यसैले त म सधैं चाहन्छु 
तिम्रो जिन्दगीको गुँडमा 
खुसीका चुलबुले चल्लाहरु चिउँ-चिउँ गरिरहुन्


यति धेरै पढेको मेरो छोरा!
तिम्रो चिउँडोको टुप्पो सम्झेर 
मैले 
जतिचोटी नरिवलको कुचोको टुप्पो भाँचेकी छु 
त्यति गन्न सक्छौ हैन?


यति धेरै पढेको मेरो छोरा!
तिम्रो कानको लोती सम्झेर 
मैले 
जतिचोटी बाख्राको पाठाको कानको लोती सुम्सुम्याएकी छु 
त्यति गन्न सक्छौ हैन?

यति धेरै पढेको मेरो छोरा!
मेरा गालामा
बाङ्गिएका अक्षरलाई
बाङ्गिएकै डिको दिएर
तिम्रो लागि लेखिएको एउटा कविता छ,
त्यति पढ्न सक्छौ हैन?


तिमीलाई सम्झिँदै मकैको कुटी काटिसकेपछी
मकैका ढोडका लामा छोटा टुक्राहरुले
डुँडको पानीमा तैरिएर 
तिम्रै बारेमा लामा-छोटा कथाहरु बनाएका छन्
त्यति पढ्न सक्छौ हैन?


तिमीलाई नै सम्झिन्छु म 
तिम्रो बुबाले मंगलबारे बजारबाट ल्याएको
दुई पावा खसीको मासुमा 
दुई बटुका झोल हालेको दिन,
तिमीले ओढ्ने गरेको पुरानो सिरकमा
नयाँ खोल हालेको दिन
म तिमीलाई सम्झिन्छु,

दिनभरी घरमा कोही नभएको दिन 
म तिमीलाई सम्झिन्छु,
रातभरी घरभरि सबैजना भएको दिन 
म तिमीलाई सम्झिन्छु,

म छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु,
मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु,


सर्पले काँचुलीलाई बिर्सिएको दिन
म तिमीलाई सम्झिन्छु
काँचुलीले सर्पलाई सम्झिएको दिन
म तिमीलाई सम्झिन्छु,

मैले आफूलाई सम्झेको दिन 
म तिमीलाई सम्झिन्छु
आफूलाई बिर्सिएको दिन
म तिमीलाई सम्झिन्छु,

मलाई नढाँटीकन भन त मेरो छोरा!
आज तिम्रो जन्मदिनमा
तिमीले मलाई सम्झ्यौ?