सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च

सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च

१२१ पटक पढिएको

सुनसरी ।  सप्तकोशी नदीमा पानीको बहाव पूनः बढेको छ । अघिल्लो दिन यसवर्षकै उच्च वहाव मापन गरिएको सप्तकोशीमा पुनः बहाव बढेको हो ।

पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख ८२ हजार ७ सय ८० क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोशी ब्यारेजका २४ वटा ढोका खोलिएका छन् ।

असारको दोस्रो साता १ लाख ६० हजारको हाराहारीमा पुगेको बहाव त्यसयता भने सामान्य उतारचढावको अवस्थामा रहेको थियो । पूर्वी पहाडी भेगमा वर्षा भएको खण्डमा कोशी नदीको जलस्तरमा वृद्धि हुने गर्छ ।

कोशीमा ४ लाख क्युसेक माथिकोे वहावलाई खतरापूर्ण मानिन्छ यद्यपी वहावले ३ लाखको आंकडा छोए सर्तकता भने अपनाउनु पर्ने हुन्छ । सुनसरी प्रशासनले कोशीको वहावमा भैरहेको उतारचढाव सामान्य र खतरामुक्त रहेको जनाएको छ ।

नदीको बहाव बढेको खण्डमा एकसाथ बढी ढोका खोलिए तीव्र वहावका कारण तटीय क्षेत्रमा कटानको खतरा बढ्छ भने जलस्तर बढ्दाको अवस्थामा कमजोर स्परमा सिधा ठोकिने वहावले समेत दुर्घटना निमत्याउन सक्छ ।