काठमाडौं, २८ चैत्र । माध्यामिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका छात्राहरुलाई लक्षित गर्दै ‘मिस एसइइ स्टार २०१७’ को आयोजना गरिएको छ ।

बैशाखको पहिलो हप्तादेखि तालिम सुरु भइ जेठको अन्तिम सातामा ग्राण्ड फिनाली मार्फत मिस एसइइ स्टार २०१७ को घोषणा हुने आयोजक भवानी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक शोनित ढंगेलले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिए । विभिन्न खालका ब्यूटी पेजेन्ट र इभेन्टहरु आयोजना गर्दै आएको भवानी इन्टरटेन्मेन्टले मिस एभरेष्टको सफलतासंगै मिस एसइइ स्टार २०१७ गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन एसइइ दिइ बसेका छात्राहरुले फारम भरी अडिसनमा सहभागी हुनुपर्नेछ । अडिसनमा छनौट भए पश्चात् प्रतियोगीहरुलाई तालिम अवधिभर व्यक्तित्व विकास, भाषण कला, वागमती सफाइ अभियानमा, हाइकिङ, हेरिटेज वाक, पिकनिक, स्विमिङ र फोटो सुट आदि विषयमा तालिम तथा सहभागी गराइनेछ ।

एक महिनाभन्दा बढिको अवधिको तालिम र बिभिन्न चरणको प्रतिस्पर्धाबाट छानिने एक उत्कृष्टले मिस एसइइ २०१७ को ताज पहिरिने छिन् । विजेताले नगद र सम्मानका साथै एक थान ल्यापटप उपहार पाउने छिन् । साथै विभिन्न खालका ट्रेनिङको अवसर, म्यूजिक भिडियोमा अभिनय, कलेजमा छात्रवृत्ति सहितको अध्ययनको अवसर पाउने छन् ।