बैतडी, वैशाख ११, वर्षासँगै चलेको हावाहुरीका कारण अछाममा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया नरपता साउद रहेकी प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।  आइतवार बेलुकी घर नजिकै रहेको खेतबाट फर्किरहेका बेला वर्षासँगै हावाहुरी चलेपछि ओत लाग्न नरपता रुखको फेदीमा गएपछि रुखको हाँगा भाँचिएर टाउकोमा लागी गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते नरपताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस