
विकास निर्माणका काममा भ्रष्टाचार भएको भन्दै इनरुवा नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी
कार्यालयका साथै विकास निर्माणका काममा भ्रष्टाचार भएको भन्दै इनरुवा नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
छानविनका लागि अख्तियारमा परेको उजुरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज दर्ता भएको छ । निवेदनको दर्ता नं. १६२६ रहेको छ ।
नगरपालिकामा जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको भन्दै जागरुक नागरिक दवाव समुहले निवेदन दिएको हो ।समुहका संयोजक पारसमणि यादव र सह संयोजक दिनेशकुमार लम्साललगायत ११ जनाको हस्ताक्षर उजुरीमा छ ।
इनरुवाका विभिन्न बाटोमा कालोपत्रे भएको भनेर २५ लाखको बिल भर्पाइ पारीत गरि भुक्तानी लिइएको, तर कालोपत्रे नै नगरी भ्रष्टाचार गरिएको निवेदनसहितको उजुरीमा उल्लेख छ ।
यस्तै नियम विपरीत पेश्की वितरण गरेको, टेण्डर नगरी २५ वटा भन्दा बढी मोटरसाइकल किनेको, जनप्रतिनिधि आएपछि इन्धन खर्च ९ गुणा बढाइएकोलगायतका आरोप लगाइएको छ ।
मापदण्डविपरीत बाटो बनाइएको, सो क्रममा व्यक्तिगत घर, जग्गा बचाउन सार्वजनिक जग्गामा बनेका मन्दिर, पसल भत्काइएको समेत जनाइएको छ ।
११ बुँदे प्रतिनिधि घटनासहितको निवेदनमा अनुसन्धान गर्न अनुरोध गरिएको छ ।