विश्व सिग्देल 
 

यतिबेला पोखरेली जनता उत्साहित छन्, आफ्नो आँगनमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने काम अघि बढिरहेको छ । म चाहिँ यो विमानस्थल बन्नुहुँदैन भन्दै आएको छु । यसो भन्दा विकास विरोधी सुनिएला । तर, कुरा त्यसो होइन । वास्तवमै अन्तर्राष्ट्रिय विमानस्थल पोखराको निम्ति अत्यन्तै प्रत्युत्पादक छ ।

 

पोखरालाई यसकै मौलिकतामा राख्ने हो र जीवन्त राख्ने हो भने अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै हुँदैन ।

सबै साथीहरुले भने, विमानस्थल बन्ने बित्तिकै पोखराको चकाचौध हुन्छ । मेरो विचारमा त्यस्तो चकाचौध हुँदैन । यसो भन्नुमा मेरा तीन-चार वटा आधार छन् ।

पहिलो आधार हो, अन्तर्राष्ट्रिय उड्डयनको नियमन गर्ने ‘आईकाओ’ को प्रावधान । आईकाओले निर्दिष्ट गरेका १८/१९ वटा प्रावधानमध्ये कुनैलाई पनि पोखराले भेट्दैन ।

आईकाओ भन्छ, ल्यान्डफिल्ड साइट एयरपोर्टभन्दा न्यूनतम ५० माइल पर हुनुपर्छ । तर, यहाँ ल्यान्डफिल्ड साइट र एयरपोर्टको क्षेत्र जोडिएको छ । हाम्रो पोखराको भूगोल कचौरा जस्तो सीमित छ । यस्तो पोखरामा हामी ल्यान्डफिल्ड साइट र एयरपोर्टलाई सँगै राख्न सक्दैनौं ।

पछिल्लो समय काठमाडौंको त्रिभुवन विमानस्थलको कुरा सुनियो, चराहरु जहाजमा ठोक्किने जोखिम बढ्यो भनेर । त्यहाँ चराहरु देखिनुमा बाहिर रहेका सेकुवा पसलहरु एउटा कारण हो भनिएको छ । नदी किनारामा फालिएका फोहोर, सिनो आदि चराको गतिविधि बढाउने कुरा हुन् । पोखरामा एयरपोर्टसँगै ल्यान्डफिल्ड साइट भएमा त्यस्तै जोखिम यहाँ पनि देखिन सक्छ ।

हामी पोखरामा डाँडा र पहाडहरुसँग यति नजिक छौं, जहाजको निरन्तर आवाजले सुन्दर र शान्त नगरी पोखरामा कोलाहल फैलिन्छ

दोस्रो कारण, जहाजको समग्र दुर्घटनामध्ये ९० प्रतिशत दुर्घटना उडान र अवतरणको बेलामा हुन्छ भनिन्छ । त्यस कारण बस्ती भएको क्षेत्रभन्दा एयरपोर्ट कम्तीमा ५०-६० माइल पर राख्नुपर्ने आईकाओको भनाइ छ । तर, हामीसँग एयरपोर्ट बनाउन ५०-६० माइल पर जाने ठाउँ नै छैन । तराई जस्तो असीमित भएको भए जति पनि फैलिन सकिन्थ्यो ।

तेस्रो कारण, अहिलेको विकासको अवधारणा के हो भने राज्यले खर्च गरेर कुनै कुरा बनाइसकेपछि त्यो पूर्वाधारले सकेसम्म नाफा देओस्, नभए पनि कम्तीमा आफूलाई धानोस् । हामीकहाँ जुन संख्यामा (पोखरा, निजगढ, भैहरवा) एयरपोर्ट बन्दै छ, तिनमा अहिले नेपाल आइरहेका हवाई यात्रुको चाप हेर्दा यो संख्या धेरै हुन्छ । त्यसकारण नयाँ एयरपोर्ट बीसौं वर्षसम्म स्टेन हुन सक्दैन ।

चौथो कारण, पोखरा पर्यटकीय शहर हो । पर्यटनमा प्रकृति र पशुपंक्षी पनि एउटा पाटो हुन्छ । यसलाई पर्यटकीय शहरकै रुपमा राख्ने हो भने हाम्रो वरिपरिका चराचुरुंगीको संरक्षणमा ध्यान दिनुपर्छ । तर, अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा आएपछि ती कुरालाई नकारात्मक असर पर्छ ।

काठमाडौंको विमानस्थलकै असर नियाल्ने हो भने पशुपतिको वनकाली क्षेत्रलाई हेरौं, जहाँको वनक्षेत्रमा चराको एउटै गुँड छैन । किनकि विमानस्थलमा आउने जेट इञ्जिनको भाइब्रेसनले अण्डा हल्लिने भएकोले त्यहाँ बचेरा कोरल्न मिल्दैन । यो कुरा चराहरुले जानिसकेका छन् ।

यस्तै, जहाजको इको (प्रतिध्वनि) ले पनि असर गर्छ । विमानस्थलमा जेट इञ्जिनहरुको नियमित आउजाउ भइरहनेछ । हामी पोखरामा डाँडा र पहाडहरुसँग यति नजिक छौं, जहाजको निरन्तर आवाजले सुन्दर र शान्त नगरी पोखरामा कोलाहल फैलिन्छ ।

धान्ला पोखराले ?

अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर काम त थालियो, तर यो काम हेर्दा कुनै अध्ययन र सोच बिना केटाकेटीको रहर पाले झैं देखिन्छ । हामी अब अन्तर्राष्ट्रिय विमानस्थल बनाएर ठूला-ठूला जहाज ल्याउँदै छौं । तर, प्रश्न के हो भने ती जहाज प्रवेश गर्ने र धान्ने पोखराको क्षमता छ कि छैन ?

सोझै अन्तर्राष्ट्रिय कनेक्टिभिटी जोडिएपछि पोखराको परिचय अन्तर्राष्ट्रिय शहरको रुपमा स्थापित हुनेछ । त्यसपछि यहाँ स्वाभाविक रुपमा मान्छेहरुको चाप बढ्नेछ । त्यसका लागि पर्याप्त भौतिक पूर्वाधार र खुला ठाउँहरु चाहिन्छ । यसका साथै त्यही अनुसारका होटल र रेष्टुरेन्टहरु हुनुपर्छ ।

अहिले हामीले पोखरामा होटल र रेष्टुरेन्टहरु प्रशस्त देख्छौं । तर, अन्तर्राष्ट्रिय शहरलाई सम्बोधन गर्ने खालका हाम्रा पूर्वाधारहरु छैनन् । स्थानीय आवश्यकता पूर्ति गर्ने खालका मात्र छन् । यसैले ठूला जहाजहरुलाई स्वागत गर्ने तयारी गर्दै गर्दा हामीले पूर्वाधारको बन्दोबस्त पनि गर्नुपर्ने हुन्छ ।

अर्कोतिर, इन्टरनेशनल एयरपोर्ट भन्ने बित्तिकै ‘एयरपोर्ट सिटी’ भन्ने अवधारणामा जानुपर्ने हुन्छ । एयरपोर्ट सिटी सम्पूर्ण सुविधा भएको त्यो सानो शहर हो, जुन हरेक एयरपोर्टको अभिन्न हिस्साको रुपमा रहन्छ । जुन एयरपोर्टको गेटसँग जोडिएको हुन्छ ।

काठमाडौं-पोखरा चार लेनको सडक बन्यो भने साढे एक घण्टाको ड्राइभमै आउजाउ गर्न सकिन्छ । नागढुंगा-नौबिसेमा सुरुङ मार्ग बनेपछि यात्रा अझ सहज हुनेछ । यो स्थितिमा काठमाडौंको एयरपोर्ट हाम्रो पनि हुनेछ

त्यहाँ तारे होटलदेखि साना होटलसम्म हुन्छन्, त्यही वर्गका रेष्टुरेन्टहरू हुन्छन् । जहाँ रात-बिरात मान्छे छोड्न जाने, लिन आउने र जहाजका क्रु मेम्बरहरु त्यहाँ बास बस्न र आराम गर्न सकून् । त्यहाँ सामान तुरुन्तै लोड-अनलोड गर्ने गोदामहरु पनि हुन्छन् ।

बाराको प्रस्तावित निजगढ विमानस्थलको डिजाइन हेर्दा त्यहाँ ‘एयरपोर्ट सिटी’ को व्यवस्था देखिन्छ । तर, पोखरामा त त्यस्तो अवधारणा नै छैन ।

साथीहरुले अन्तर्राष्ट्रिय विमानस्थल बनेर जहाजहरू आउन थालेपछि त धेरै कुरा हुन्छ भन्ने सोचे । तर, जहाज आउनुभन्दा अगाडि हामीसँग पूर्वाधार के-के हुनुपर्छ र विमानस्थलका दीर्घकालीन असर के-के हुन सक्छन् भन्नेमा ध्यान गएको पाइँदैन ।

गजबको कुरा के छ भने, जहाज आउँदा पोखरालाई जति फाइदा हुन्छ, त्यो फाइदा हामी अन्य विकल्पबाटै लिन सक्छौं । त्यसो हो भने यो विमानस्थल र जहाजको बोझ किन बोक्ने !

विकल्प के त ?

त्यसो त विकासको अवधारणा अनुसार विकासको प्रतिफल चाख्ने क्रममा केही प्रतिकूलताको पनि सामना गर्नुपर्छ । धुवाँ, धूलो र तातो हावा आउँछ भनेर झ्याल राखिएन भने उज्यालो बाहिरै पर्छ र चिसो हावा पनि खेल्न पाउँदैन । त्यस कारण अक्सिजन र उज्यालो पाउनका लागि अलिअलि धुवाँ-धूलो खानुपर्छ भन्ने हाम्रो सिद्धान्त हुन्छ ।

तर, अन्तर्राष्ट्रिय विमानस्थल बनेमा अलिअलि हैन, पर्यटकीय शहरले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । पोखराको पर्यटन र आर्थिक विकासमा यो विमानस्थलले जे-जति फाइदा गर्छ, त्योभन्दा धेरै गुणा फाइदा हामी अर्को तरिकाबाट लिन सक्छौं । हामीसँग वैकल्पिक उपायहरू छन् ।

उदाहरणको निम्ति, काठमाडौं-पोखरा चार लेनको सडक बन्यो भने साढे एक घण्टाको ड्राइभमै आउजाउ गर्न सकिन्छ । नागढुंगा-नौबिसेमा सुरुङ मार्ग बनेपछि यात्रा अझ सहज हुनेछ । यो स्थितिमा काठमाडौंको एयरपोर्ट हाम्रो पनि हुनेछ ।

मैले युरोप र अमेरिकाका धेरै एयरपोर्ट र ठूला शहरहरु देखेको छु । कुनै पनि एयरपोर्ट आधा घण्टाभन्दा कम ड्राइभमा पुग्न सकिँदैन, प्रतिघण्टा ७० माइलको गतिमा गुड्दा ।

एवम् रीतले भैरहवामा बनिरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको विमानस्थलको बीचमा हवाई दूरी ६० माइल छ । हामीले द्रुत मार्ग (रेल वा सडक) वा अन्य विधिबाट पहुँच बनाइयो भने भैरहवाको एयरपोर्ट हाम्रो होइन ?

त्यस्तै अर्को छ, बाराको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । पोखरा-निजगढको बीचमा बुलेट ट्रेन वा फास्ट ट्र्याकको व्यवस्था गर्न सक्यौं भने डेढ-दुई घण्टामै पुग्न सकिन्छ । त्यसपछि निजगढको एयरपोर्ट हाम्रो होइन ?

संसारभरि सय माइलको दूरीमा एयरपोर्ट हुन्छन् । हामीलाई चाहिँ आँगनमै एयरपोर्ट चाहिएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल किन उपयुक्त हुँदैन भनेर दिल्लीको एयरपोर्टको उदाहरण हेर्दा हामीलाई पर्याप्त हुनेछ ।

सन् १९६० सम्म दिल्लीको सफदरगंज भन्ने ठाउँमा अन्तर्राष्ट्रिय एयरपोर्ट थियो । पहिला अंग्रेजहरुले प्रयोग गरे र १९६० सम्म भारतीयहरुले पनि उपभोग गरे । समय क्रममा पछि जब सफदरगंजसम्म शहर विस्तार गयो, एयरपोर्ट पालममा सारियो ।

पोखरालाई बचाउने हो भने हामीले पोखराको मौलिकतालाई बचाउने हो । पोखराको विकास पर्यटकीय शहरकै रुपमा गर्ने हो । किनकि यहाँको विशेषता र सम्भावना पर्यटन हो । यो ठाउँ मानव बस्तीले ढाकिने शहर होइन

पालममा सारेपछि पनि एयरपोर्ट २० वर्षभन्दा बढी टिकेन । किनभने शहर त्यहाँसम्मै फैलियो । त्यहाँबाट एयरपोर्ट अहिलेको गुढगाउँ, हरियाणामा लगियो । अहिले दिल्लीको आवादी विस्तार भएर गुढगाउँसम्म पुगिसक्यो । सफदरगंजमा एयरपोर्ट हुँदा दिल्लीको जनसंख्या २० लाख थियो, अहिले तीन करोड भइसक्यो । अहिले फेरि उनीहरुको एयरपोर्ट सार्नुपर्ने अवस्था छ ।

पोखरामा बन्ने एयरपोर्ट दमौलीको लागि हो, स्याङ्जा, कुश्मा र बाग्लुङको लागि हो । पोखराको लागि होइन । यसले पोखराको विकासमा होइन, ध्वंशमा मात्रै भूमिका खेल्छ ।

म साथीहरुलाई भन्ने गर्थेँ, ‘अहिले तिमीहरु इन्टरनेशनल एयरपोर्ट चाहियो भन्दै अनशन बसेका छौं, भोलि तिमीहरुका नाति-नातिना यो एयरपोर्ट उठाऊ भनेर अनशन बस्नेछन् ।’

जसरी, अहिले गुढगाउँका मान्छेहरु त्यहाँको एयरपोर्ट हटाऊ भनेर अनशन बसेका छन् । एयरपोर्टले हामीलाई बाधा भयो, हामी असुरक्षित भयौं भनिरहेका छन् । हामी पनि त्यतै उन्मुख हुने पक्का छ ।

पोखरालाई जोगाउने हो भने…

पोखरालाई बचाउने हो भने हामीले पोखराको मौलिकतालाई बचाउने हो । पोखराको विकास पर्यटकीय शहरकै रुपमा गर्ने हो । किनकि यहाँको विशेषता र सम्भावना पर्यटन हो । यो ठाउँ मानव बस्तीले ढाकिने शहर होइन, पर्यटक ओहोरदोहोर गर्ने पर्यटन केन्द्रको रुपमा रहनुपर्छ ।

यसको लागि निर्मम अपरेशन गर्नुपर्छ । निर्मम भन्दाभन्दै पनि त्यति गाह्रो छैन ।

म भारतको उदाहरण दिएर पोखरासँग तुलना गर्छु । एक समय राजीव गान्धीले कलकत्तालाई प्रसंगवश यो ‘डेड सिटी’ (मृत शहर) हो भने । उनले सही भनेका थिए । कलकत्ता हिजो जुन साहित्य, संस्कृति र कलाको केन्द्र थियो, त्यो कलकत्ता आज मृत छ ।

राजीवले त्यसो भन्दा बंगालीहरुको मन दुख्यो । त्यो भनाइको धेरै विरोध भयो । तर, केही बंगाली विद्वानले भने, ‘राजीवले ठीकै त भनेका हुन् । हामी आफैं कलकत्तालाई मार्ने अनि बाहिरको मान्छे आएर मर्‍यो भन्दा चित्त दुखाउने ? मारेको त हामीले नै हो नि !’

कलकत्ताले त्यो नियति खेप्नुको कारण के हो भने, यति धेरै विकास र पूर्वाधारहरु त्यहाँ थुपारियो, त्यही पूर्वाधारले त्यहाँको जीवन थिचिदियो ।

कलकत्ता जस्तै पोखरा पनि मृत शहर हुन सक्छ । पोखरा अहिले मरणासन्न छ, यसलाई बौराउन सकिन्छ । यति धेरै विकास र पूर्वाधारका कुरा नगरौं, जसलाई थेग्न हम्मे परोस् ।

यसैले अब पोखरा बनाउने हो भने यो त्यति सम्हाल्नै नसक्ने गरी बिग्रिएको छैन ।

पोखराको जनसंख्या अहिले तीन लाखको हाराहारीमा छ । यदि मानवोचित पूर्वाधारसहितको पोखरा, नमूना पोखरा र पर्यटकीय केन्द्र बनाउने हो भने एक लाखभन्दा बढी आवादी यसले धान्न सक्दैन ।

पछिल्लो समय पोखरालाई दुई वटा दायित्व थपिएको छ । अझ म त दायित्व पनि भन्दिनँ, बोझ भन्छु । एउटा, प्रान्तीय राजधानी हुँदै छ र अर्को, अन्तर्राष्ट्रिय एयरपोर्टसहित अन्तर्राष्ट्रिय पहिचानको शहर बन्दै छ ।

पोखराको बारेमा सरकार र स्थानीय मानिसले अहिले जे सोचेका छन्, त्यो चिन्तनले यी दुईटा बोझलाई धान्न सक्दैन ।

प्रान्तीय राजधानी बन्ने कुरामा काठमाडौंमा केन्द्रीय सरकारको जे-जे संरचना छन्, अब प्रान्तीय सरकार भएपछि रक्षा मन्त्रालयबाहेक सबै मन्त्रालय त यहाँ हुन्छ । मन्त्रालय, सचिवालय र विभागहरु हुने भए । अहिले राजधानीले ती संरचना धान्न जति जमिन ओगटेको छ, धेरथोर त्यति नै जमिन यहाँ पनि चाहियो । कहाँ छ पोखरामा जमिन ? अहिले एक रोपनी जमिन खोज्दा पनि नपाउने अवस्था छ ।

प्रान्तीय राजधानीकै कुरा गर्दा हामीले पालुङटारमा प्रान्तीय राजधानी राख्दिए के बिग्रिन्छ ? किन भिड थुपार्नु छ यहाँ ?

हामी पोखरालाई ५० हजार वा एक लाखको आवादी रहने शहर बनाऔं र आठ-दस लाख मान्छेको मोबिलिटी बढाऔं । दिनमा घुमफिर र रमाइलो गर्न २० हजार मान्छे आउँछन्, २० हजार मान्छे जान्छन् । यहाँका एक लाख मान्छेको घर-घरमा, दैला-दैलामा, कन्तुर-कन्तुरमा पैसा दिन्छन् । सबै मान्छे सम्पन्न र खुसी हुन्छन् । पूर्वाधार विकासको नाममा थेग्न नसक्ने गरी किन भोलि कंगाल र भिखारीको शहर बनाउने ?

संसारमा भूगोलको आधारमा ५० वटा भित्र पर्ने हाम्रो देश सानो होइन, ठूलै हो । यो देशको समग्र भूगोललाई उपयोग गर्नुपर्‍यो ।

पोखरालाई व्यवस्थित गर्न र बचाउन हामीले पोखरा डेभलपमेन्ट अथोरिटी भनेर ऐन नै बनाएर अघि बढ्न सक्छौं । विशेष बडीलाई नै जिम्मा दियो भने केही होला । त्यसको लागि ढिलो भइसकेको छ

ग्रेटर पोखराले दिन्छ प्राण

पछिल्लो समय ग्रेटर पोखराको कुरा गर्दा हामीले माथितिर मोदी र तल मादीबीचको भागलाई महानगरको रुपमा विकास गर्नुपर्छ भन्दै छौं ।

सारा शहरहरुमा योजनाविद्हरुको सफल प्राक्टिस हो, छेउछाउमा खानेपानी, विद्यालय, अस्पताल लगायतको राम्रो सुविधा दिँदै राज्यको उपस्थिति देखियो भने कोही पनि मान्छे शहरमा आउँदैन । यस कारण पोखरालाई व्यवस्थित गर्न पोखरा आसपासको क्षेत्रलाई विकास गर्नु जरुरी छ ।

त्यसो भएमा पोखराको सुविधा उपभोग गर्न पोखरा नै बस्नुपर्ने अवस्था रहँदैन । वरिपरिको ठाउँबाट पोखरासम्मको सहज एक्सेस बनाएर आउन चाहेको बेलामा सजिलै र तुरुन्तै आउन सक्ने सडक लगायतका पूर्वाधार राज्यले बनाउनुपर्छ ।

काठमाडौंको भाग्यमा जुन कुरा छैन, त्यो हाम्रो भाग्यमा छ । त्यो हो, ‘स्याटेलाइट सिटी’ । हामीसँग त्यस्ता स्याटेलाइट सिटीका रुपमा विकास गर्न सकिने प्रशस्त ठाउँ छन् ।

पोखराबाट मुश्किलले ५० माइल पर पौने घण्टाको दूरीमा पालुङटार छ । त्यसपछि लमजुङको भोर्लेटार, करापुटार जस्ता ठाउँ छन् । पोखराबाट २० किलोमिटर पर रहेका ती ठाउँ झन्डै आधी पोखरा जत्रा उपत्यका छन् । त्यस्तै, पर्वतको कुश्मा, बाग्लुङ, स्याङ्जा, वालिङ, दमौली र खैरेनी छ । अझ ठूलो सम्भावना भएको उपत्यका भिमाद हो ।

यी ठाउँहरुको विकास गर्न सकियो भने पोखराको चाप स्वाभाविक रुपले घट्नेछ । यो पर्यटकीय शहरलाई व्यवस्थित गर्न यहाँको मानव चाप नियन्त्रण गर्नु अपरिहार्य छ ।

पोखराको सबभन्दा खतरनाक कुरा नै यहाँको आवादी हो । मैले थाहा पाउँदा समग्र पोखराको १० प्रतिशत जमिनमा मात्रै आवादी थियो । अरु सबै खुला चौर अर्थात् पाटन थिए । अहिले पनि पोखराका धेरै ठाउँहरुको नाम छोरेपाटन, बाँझापाटन, घारीपाटन, कोलपाटन आदि पाटनको नामबाटै छन् ।

तर, ती ठाउँ अतिक्रमणले भरिएर अहिले ठाउँको नाम मात्र पाटन छ । त्यसमध्ये ९० प्रतिशत जमिन सरकारले नै ओगटेको छ ।

पोखरालाई व्यवस्थित गर्न र बचाउन हामीले पोखरा डेभलपमेन्ट अथोरिटी भनेर ऐन नै बनाएर अघि बढ्न सक्छौं । विशेष बडीलाई नै जिम्मा दियो भने केही होला । त्यसको लागि ढिलो भइसकेको छ ।

(प्रकृति र संस्कृतिमा समेत रुचि राख्ने सिग्देल समाजशास्त्री हुन् ।)
२०७३ माघ २४ गते १९:४५ मा अनलाईन खबरमा प्रकाशित (२०७४ जेष्ठ २६ गते ९:३० मा पूर्ण प्रसारित गरिएको)