मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र निर्माण सुरु

मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र निर्माण सुरु

८७ पटक पढिएको

विराटनगर / मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र निर्माण सुरु गरिएको छ । केरावारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्र निर्माणको काम अघि बढाइएको हो । त्यहीं रहेको नेपाली सेनाको कालीशक्ति गणले प्राविधिक रुपमा सहयोग गर्ने भएपछि केरावारी ६ याङशीलामा गाउँपालिका कार्यालयले केन्द्र निर्माण सुरु गरिएको छ । मोरङको उत्तरी पहाडी क्षेत्र र तराई भूभागको मध्यमा पर्ने गाउँपालिकामा वर्षेनी गर्मी समयमा सर्पको बिगबिगी बढ्ने गरेका कारण उपचार केन्द्र निर्माणको आवश्यकता रहेको गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताए । ५८ लाख रुपैयाँको लागतमा निर्माण हुने केन्द्र आउँदो बैशाखबाट संचालनमा ल्याइने जानकारी उनले दिए ।

गाउँपालिकाको अधिकांश भूभाग चारकोसे झाडीले घेरिएको गाउँपालिकामा सर्पले विगतमा सर्वसाधारणलाई दुःख दिदैं आएको उनको भनाइ छ । कार्कीले उपचार केन्द्र बनेपछि सर्पले डसेका सर्वसाधारणको उपचारमा सहज हुने बताए ।

विगत केहीवर्षअघिसम्म सो क्षेत्रमा वर्षेनी ३ जनासम्मको मृत्यु सर्पको टोकाइबाट हुने गरेको बताउँदै उनले भने, ‘स्थानीयतह नहुदाँ केन्द्र बनाउन सकिएको थिएन । अब उपचारका लागि धेरै टाढा गइरहनुपर्ने बाध्यता हटाउनेतर्फ लागेकाछौ । । केन्द्रका लागि सेनाकैतर्फबाट दुईजना स्वास्थ्यकर्मी समेत तयार भइसकेको बताउँदै उनले भने, ‘औषधिलगायतमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्ने भएको छ ।

उपचार केन्द्रको निर्माणमा गाउँपालिकाले पाँच लाख, गाउँपालिका अध्यक्ष रोहित कार्कीले ५१ हजार, स्थानीय सारदा ढकालले २५ हजार र युवराज भण्डारीले २२ हजार प्रदान गरेको र बाँकी रकम विभिन्न दाताबाट संकलन गरिने जानकारी रहेको छ ।