चोरी आरोपमा काठमाडौंबाट १५ दिनमा ३०७ जना पक्राउ

चोरी आरोपमा काठमाडौंबाट १५ दिनमा ३०७ जना पक्राउ

११२ पटक पढिएको

२८ जेठ, काठमाडौं । काठमाडौंमा चोरी नियन्त्रणका लागि प्रहरीले सुरु गरेको विशेष अभियानमा १५ दिनभित्र  तीन सय ७ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले सञ्चालन गरेको विशेष अभियानका क्रममा उनीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

चोरीका घटना बढेको गुनासो आएपछि प्रहरीले विहान १० देखि ६ बजेसम्म सादा पोशाकमा र राति ११ बजेदेखि विहान ४ बजेसम्म नाइट एम्बुस ड्युटी परिचालन गरेको छ । पक्राउ परेकामध्ये दुई सय २१ जनालाई सोधपुछपछि छाडिएको छ भने अरुलाई विभिन्न अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । जसमा लागू औषध, नक्कली मुद्रा, लुटपाट र चोरी लगायतका मुद्दा रहेका छन् । सबैभन्दा धेरै ५३ जनालाई केही सार्वजनिक अपराध मुद्दा लगाइएको छ ।

काठमाडौं उपत्यकामा चोरीका घटना बढ्न थालेपछि महानगरीय अपराध महाशाखाले जेठ १३ गतेदेखि २७ गतेसम्म  अभियान चलाएको थियो । अहिले काठमाडौंको धेरै सार्वजनिक स्थल, बसस्टप, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान, ब्यापारिक केन्द्रमा सादा पोशाकमा प्रहरी परिचालन गरेको महाशाखाले जनाएको छ ।

काठमाडौंमा पछिल्लो समय वित्तीय संस्थाको ढोका  फोडी नगद, ल्यापटप चोरी गर्ने, भीडभाडको फाइदा उठाई हुने पाकेटमारी,लुटपाट,सिक्री तथा सुनका गरगहना तान्ने लगायत अन्य अपराधिक घटनाहरु ठगी,डलर साट्ने नाममा ठगी, नक्कली सुन देखाई ठगी गर्ने, खुर्सानीको धुलो प्रयोग गरी लुटपाट, विस्कुटको हिलो बनाई लगाएर गरिने ठगी  गर्ने घटना बढेको प्रहरीले जनाएको छ ।