राष्ट्रिय गौरवको आयोजनाले गुराँसको राजधानी’ तीनजुरे सङ्कटमा

राष्ट्रिय गौरवको आयोजनाले गुराँसको राजधानी’ तीनजुरे सङ्कटमा

१३९ पटक पढिएको


तेह्रथुम र तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन निर्माणले तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा  ‘गुराँसको राजधानी’ उपनामले चिनिने सो क्षेत्रको गुराँस वन नष्ट हुने भन्दै आपत्ति जनाएको छ ।  करिडोर निर्माणका लागि वसन्तपुरदेखि ढुंगेसाँघु क्षेत्रमा काम शुरु भएको छ ।
राष्ट्रिय गौरवको आयोजना कोशी करिडोर २२० केभिए विद्युत् प्रशारण लाइन निर्माणले तीनजुरे मिल्के जलजले क्षेत्रको जैविक विविधतामा प्रत्यक्ष असर पु¥याउने लालीगुराँस नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथाशीघ्र अलाइन्मेण्ट परिवर्तन गरी टिएमजे क्षेत्रको जैविक विविधता बचाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएको छ । सो क्षेत्रको वनमा २८ प्रजातिका गुराँस फुल्ने कारण विश्वभर चर्चित छ । तर, करिडोरको प्रशारण लाइन निर्माण गर्दा टिएमजे क्षेत्रका सामुदायिक वनमा मात्रै दुई हजार ७०० भन्दा बढी रुख काट्ने आयोजनाको प्रारम्भिक तयारी रहेको छ 

 

बिहीबार नगरपालिकामा सर्वपक्षीय छलफल र पत्रकार भेटघाट कार्यक्रम गर्दै नगर प्रमुख माबोहाङले देशले गर्व गर्नुपर्ने टिएमजे क्षेत्रको गुृराँस वन जोगाउन सबैले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।गुराँस वन जोगाउन उपभोक्ता र सरकारले समेत अर्बौँ रुपैयाँ लगानी गरिरहेका बेला आयोजनाले रुख काटेर प्रशारण लाइन बनाउन लागेकामा स्थानीय सरकारको आपत्ति रहेको उहाँले बताउनुभयो । उहाँले विश्वमा पाइने ४२ मध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने र त्यसमध्येका २८ वटा यहाँको एकै वनमा फुल्ने महत्वलाई नभुल्न र यसको संरक्षण र प्रचारप्रसारमा आवश्यक भूमिका खेल्न समेत ध्यानाकर्षण गराउनुभएको छ  तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गम स्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस मात्रै फुल्दैनन्, यहाँ १२० प्रजातिका पुतली, लिडेमुसा, रातो पाण्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा समेत पाइने गरेका छन् ।
नगर प्रमुख माबोहाङले भन्नुभयो – “आयोजनाले स्थानीय सरकार र उपभोक्तासँग सहकार्य समेत गरेको छैन । हामीलाई थाहै नदिई वर्षौदेखि जोगाएर राखेको र यहाँको अस्तित्वसँग जोडिएको गुराँस मास्न लागेको छ ।”
आयोजनाले तेह्रथुममा १० किमि, संखुवासभामा १०।५ किमि र ताप्लेजुङमा ११ किमि प्रशारण लाइन बनाउने सर्वे गरेको छ । टावर १८ मिटर भन्दा अग्लो हुने भएकाले गुराँस वन कम मात्रै क्षति हुने आयोजनाका साइट इन्चार्ज पौडेलको तर्क रहेको  छ । आयोजनाले पहिलो खण्डमा ३१३ वटा र तेश्रो खण्डमा १२२ वटा टावर राख्ने जनाईएको छ ।
प्रशारण लाइनका लागि २०७४ चैत्र २७ गते नै मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो ।२०७४ मङ्सिरमै जग्गा अधिग्रहणको काम थालिएको थियो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् सोही प्रशारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता समेत गरिसकेको छ ।कार्यक्रममा सहभागी स्थानीयवासीहरुले आयोजनालाई आफ्नो अलाइन्मेण्ट परिवर्तन गर्न आग्रह गरेका छन् ।