आलोचना बटुल्दै सुन्दरहरैचाका मेयर

आलोचना बटुल्दै सुन्दरहरैचाका मेयर

१७२ पटक पढिएको

संघीय सरकार मातहत रहेको पूर्व पश्चिम राजमार्ग अन्र्तगत सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकदेखि गोठगाउँ चोकसम्मको सडक छेउको रूख कटान गरिएपछि नियमबिपरित अनुमति नै नलिई रुख काटिएको बिषय बाहिर आएको हो । रूख कटान गरेर काठ बिक्री गरेपछि विवाद झन बढेको छ । कानुन विपरीत रूख कटान गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन सुरु गरेको छ । प्रदेश १ सरकारको सडक सुशासन कार्यक्रम अन्तर्गत सडक बिस्तार गर्नका लागि सुन्दरहरैंचा नगरपालिकाले प्रक्रिया नै पूरा नगरी जबर्जस्ती रूख कटान गरेको सरोकारवालाहरु बताउँछन । सडक आसपासमा रहेका ७५ बढी रूख कटान गरेर काठ समेत लगिसकेको स्थानीयको भनाइ छ । विराटचोक पश्चिम, सलकपुर चोक र गोठगाउँ चोकस्थित सडक वरिपरिको बर, पिपल, सिसौ, कदम लगायतका प्रजातिको रूख काटिएका छन । सुन्दरहरैंचा नगरपालिकाले प्रदेश सरकारको सडक सुशासन कार्यक्रम कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल गरेको थियो । सडक छेउको रूख कति काट्नु पर्ने हुन्छ त्यसको तथ्यांक संकलन गरेर सडक डिभिजन कार्यालय विराटनगरमा जानकारी गराउनुपर्ने छलफल भएको थियो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सबडिभिजन वन कार्यालय सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझी, ट्राफिक प्रहरी, सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपाने लगायतको उपस्थिति थियो । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेले सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको छलफलमा आफू पनि सहभागी भएको स्विकारेका छन । ‘छलफलमा काट्नुपर्ने रूखको संख्या यकिन गरेर सडक डिभिजनलाई जानकारी दिनुपर्ने सहमति भएको थियो । नगरपालिकाले छलफलकै आधारमा रूख कटान गरेर सडक बिस्तारको काम सुरु गरेपछि समस्या भएको उनी बताउँछन सडकको रूख कटान गर्नुअघि वन कार्यालयले छपान गर्नुपर्ने र त्यसपछि काटेर पुन मूल्यांकन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । माघ १० गते रूख कटान भइरहेको जानकारी पाएपछि सुन्दरहरैंचा नगरलाई रूख कटान रोक्न पत्राचार गरेको समेत न्यौपानेले बताए । त्यसपछि कटान भएको रूखको काठ घाटगद्दी गर्न पहल गरेको तर त्यो हालसम्म हुन सकेको छैन । रूख कटानपछि बिक्री गरिसकेको स्थानीय बताउँछन ।

न्यौपानेले कटान भएको रूखको काठ घाटगद्दी गरेर बिक्री गरी सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने बताए । उनले रूख काट्नेलाई कानुनी कारबाहीमा ल्याउन र काठ बरामदका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पत्राचार गरेको बताए । प्रमुख जिल्ला अधिकारी केसीले रूख कटानको विषयमा डिभिजन वन कार्यालय मोरङ र जिल्ला प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन । सबै सरोकारवाला निकायकै मिलेमतोमा रूख कटान भएको तर स्थानीयले विरोध गरेपछि विवाद बढेको हो । सुन्दरहैंचा नगर प्रमुख शिवप्रसाद ढकालले प्रदेश सरकारको सडक सुशासन कार्यक्रमअन्तर्गत आफ्नो नगरपालिका क्षेत्रभित्र पूर्व–पश्चिम राजमार्गलाई साढे ८५ फिट कायम गर्ने रूख कटान भएको बताए । उनले वडा कार्यलयहरूले उपभोक्ता समिति बनाएर सडक बिस्तारको काम अघि बढाएको र त्यसै क्रममा रूख कटान भएको जानकारी पाएको बताएका छन । उनले कानुनसम्मत वा कानुनविपरीत के कसरी रूख कटान भएको बारेमा जानकारी लिने काम भइरहेको बताए । उपभोक्ता समितिहरूले कटान गरेको रूख घाटगद्दी गरेर राखेको उनले दाबी गरेका छन । यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग इकाइ कार्यालय इटहरीले समेत सुन्दरहरैंचा नगरपालिकाले सडक बिस्तारको नाममा अनियमित तरिकाले राजमार्गको रूख काटेको भन्दै छानबिन सुरु गरेको छ । अख्तियारको माघ १४ गतेको चलानी नम्बर २१०७ को पत्रअनुसार डिभिजन वन कार्यालय मोरङले सबडिभिजन वन सलकपुरका सहायक वन अधिकृत माझीलाई छानबिनका लागि शुक्रबार पत्राचार गरेको छ । पत्रमा कति परिमाणको रूख कटान गरिएको र त्यसमा वन कार्यालयको स्वीकृति आवश्यक भए नभएको छानबिन गरी आवश्यक कागजातसहितको प्रतिवेदन तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ ।