भारतीय ‘दादागिरी’विरुद्ध युवाले सुरु गरे ह्यास ट्याग अभियान

भारतीय ‘दादागिरी’विरुद्ध युवाले सुरु गरे ह्यास ट्याग अभियान

४६९ पटक पढिएको

 भारतले नेपाली भू–भाग मिच्दै बाटो समेत बनाएको विरोधमा युवाहरुले रचनात्मक अभियान सुरुवात गरेका छन् । युवाहरुले ह्यास ट्याग अभियान सुरु गरेका हुन् ।

नेपाली भू–भाग कालापानी–लिपुलेक–लिम्पियाधुरा भारतले गत कार्तिकमा आफ्नो राजनैतिक नक्सामा समावेश गरेको र मे ८, २०२० मा कालापानीदेखि चीनको तिब्बतस्थित कैलाशमान शरोवरसम्म जोड्ने ८० किलोमिटर सडकखण्ड निर्माण गरेको भन्दै युवाले भारतीय ‘दादागिरी’विरुद्ध सामाजिक सन्जालमा ह्यास ट्याग अभियान सुरु गरेका छन् ।

अभियन्ता आरती लामा, प्रदीप थापा, प्रमिला लामा, प्रकाश श्रेष्ठ, सुजन थापा, मिलन चौहान, अविचल पौडेल लगायतले आन्दोलन र विरोधको रचनात्मक शैली प्रस्तुत गरेका हुन् ।

नेपालको २३ जिल्लाका करिव ७५ भन्दा बढी ठाउँ भारतले अतिक्रमण गरेको छ, करिब ६० हजार हेक्टर भूमि अतिक्रमित भएको छ । कालापानी लिपुलेक लिम्पियाधुरामा मात्रै करिब ३७ हजार हेक्टर भूमि मिचिएको छ ।

विश्व समुदाय कोरोना भाइरसले आक्रान्त भइरहेको बेला यस किसिमका रचनात्मक आन्दोलन नै प्रभावकारी भएको अभियन्ता आरती लामाले बताए ।

आज सुरु गरिएको अभियान साँझ ७ बजे ह्यास ट्याग र आफ्नो पोसाक सहित सामाजिक सन्जालमा पोस्ट गरिएको र आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायले समेत भारतको हेपाहापन र विस्तारवादी नीति विश्व जगतले बुज्ने र नेपालले आफ्नो तथ्य र ऎतिहासिक दस्तावेज सुरक्षित राख्नुपर्ने अभियन्ता प्रदीप थापाले बताए ।

यी भू–भाग नेपालकै रहेको कुरा विश्व समुदायले मनन गर्न सहयोग पुग्ने अभियन्ता थापाको विश्वास छ ।

सामाजिक सन्जालमा लेखिएको पोस्ट धेरै सेयर भएको थियो ।
लेखिएको थियो–
‘हाम्रो सीमा प्रतिरक्षा गरौं’
‘हाम्रो भूमि फिर्ता लिऔं’
‘सीमा विवाद यही साल अन्त्य गरौं ।’
र क्याप्सनमा
#मेरो_ऎक्यवद्धता
#No_hegemony