प्रदेश नम्वर १ भित्रै  १७ जना कोरोना संक्रमित थपिए देशभरीमा संक्रमितको  संख्या ४४४ पुग्यो

प्रदेश नम्वर १ भित्रै १७ जना कोरोना संक्रमित थपिए देशभरीमा संक्रमितको संख्या ४४४ पुग्यो

३९१ पटक पढिएको

८ जेठ, विराटचौक। झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।
झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।
उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।