बेलबारीमा प्रदेश स्तरीय दृष्टि विहीनहरुको कविता प्रतियोगिता सम्पन्न

बेलबारीमा प्रदेश स्तरीय दृष्टि विहीनहरुको कविता प्रतियोगिता सम्पन्न

१०२ पटक पढिएको

बेलबारी । दृष्टिविहिनहरुको भावना अनि विचारलाई प्रस्फुटन गर्ने उद्धेश्यले मोरङको बेलबारीमा प्रदेश स्तरीय दृष्टि विहीनहरुको कविता प्रतियोगिता सम्पन्न भएको छ ।
बाहिरी संसार हेर्नको लागि भित्री आँखाको जरुरत पर्छ भन्ने भावका गहकिला रचनाहरु प्रतियोगितामा वाचन गरिएका थिए । कार्यक्रममा झापा,मोरङ,सुनसरी,ईलाम,पाँचथर,ताप्लेजुङ,भोजपुर,धनकुटा,सिराहाका गरि दुईदर्जन बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए । बेलबारीमा पहिलो पटक आयोजना गरिएको प्रदेश स्तरीय कविता प्रतियोगितामा सशक्त रचनाहरु वाचन गरिएका थिए । नेपाली साहित्यको नक्षत्रमा एउटा ताराको रुपमा उदाएकी झमककुमारी घिमिरे पछि शारीरिक अशक्त र अपांग माझ ठूलो जागरणको रुपमा कार्यक्रमले झल्को दिएको छ ।

१३८ सौ हेलेन लेकर जन्म जयन्तीको अवशरमा आयोजित कार्यक्रममा ताप्लेजुङका स्रष्टा रमेश प्रसाईको कविता सर्वोत्कृष्ट ठहरिएको थियो । दृष्टि विहीनलाई हेर्ने समाजको दृष्टिकोण प्रति चुनौति सौदर्यलाई भन्दा पनि गुणको पहिचान गर्न आह्वान गरेका थिए । त्यसैगरी प्रतियोगितामा झापाकी मुना मञ्जरी, सुनसरीका गगन आले, मोरङका विनिता सतार र संखुवासभाका गोविन राई उत्कृष्ट ठहरिएका थिए । नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रमको निर्णायक टिका आत्रेय,जेवि थुलुङ र रेखा सुवेदी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका १ नम्वर प्रदेशका कानुन मन्त्री हिकमत कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मन्तव्य राख्दै कार्कीले कार्यक्रममा वाचन गरिएका रचनाको प्रशंसा गर्दै बेलबारीमा दृष्टिविहिनहरुको लागि तालिम केन्द्रको व्यवस्था गर्न पहल गर्ने बताएका छन् । कार्यक्रमकै अवशरमा स्रष्टाहरु मनु मञ्जिल, रेखा सुवेदी, तिला लेकाली लगायतले रचना वाचन गरेको थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, श्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङ, मोरङ नेत्रहिन संघका सल्लाहकार डिपी राई, साहित्यकार ईरान राई , आदिवासी जनजाति नेता तिलकप्रसाद राई लगायत अतिथिका रुपमा रहेका थिए । कार्यक्रम संघका अध्यक्ष सावित्रा कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।