भरतपुर अस्पतालको दुर्गन्ध हट्ने

भरतपुर अस्पतालको दुर्गन्ध हट्ने

१३२ पटक पढिएको

चितवन भौतिक संरचना, उच्चस्तरका उपकरण, दक्ष जनशक्ति भएर पनि दुर्गन्धका कारण समस्या बनेको भरतपुर अस्पतालको दुर्गन्ध अब हट्ने भएको छ ।सरकारी अस्पतालमध्ये नेपालकै नमूना अस्पताल बन्दै गएको यस अस्पतालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको फोहोर र त्यसवाट हुने दुर्गन्ध नै हो । अस्पतालले ‘एन आर एन क्लिन’ नेपाल र खेम्स क्लिनिक सर्भिसेस प्रालिको सहकार्यमा सोमबार रातिबाट सफा गर्न थालेको र एक महिनाभित्रमा अस्पताल पूर्ण रुपमा सफा हुने जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रवीन खड्काले तीव्र गतिमा स्तरोन्नति हुँदै गएको अस्पतालमा फोहर नै प्रमुख समस्या देखिएपछि आफू आएलगत्तै यसैलाई पहिलो प्राथमिकता दिएर काम थालेको बताउनुभयो ।उहाँका अनुसार अस्पताल सफा हुँदै गर्दा अस्पतालमा रहेका १५ सरसफाइका कर्मचारी पनि दक्ष बन्ने र उनीहरुले सरसफाइका अन्य कर्मचारीलाई नयाँ प्रविधिबारे सिकाउने छन् । अस्पतालमा हाल १२ सरकारी, ३० अस्पताल विकास समितिका र ८९ ठेकेदार कम्पनीका सरसफाइ कर्मचारी छन् ।

खेम्स क्लिनिकका प्रमुख सञ्चालन अधिकृत विराज अधिकारीले अत्याधुनिक प्रविधिबाट सरसफाइ गरेर अस्पताललाई एक महिनामा नमूना अस्पताल बनाइने बताउनुभयो । अस्पतालले १५ कर्मचारी र सरसफाइका लागि आवश्यक सामग्री पनि दिएको छ ।

सरसफाइका क्रममा अस्पतालको भूइँ, भित्ता, भ¥याङ, सिसा, शौचालय, सोफा, अन्य उपकरण, विद्युतीय सामग्री, पाइप लाइन, सबै सफा गरिने उहाँले जानकारी दिनुभयो ।हाल पुरातन तरिकाबाट सरसफाइ भइरहेकामा अहिले नयाँ र अत्याधुनिक प्रविधि प्रयोग गरिएको र यसबाट अस्पतालको नियमित काममा कुनै प्रभाव नपर्ने गरी रातको समयमा सरसफाइ गरिएको छ ।

यसअघि अस्पतालका शौचालय, ढल, गल्ली, वाडमासमेत गन्ध आउने गरेको थियो । अधिकारीले एक महिनापछि अस्पताल छोड्दै गर्दा १५ जना कर्मचारीलाई विज्ञ बनाउने र दुर्गन्धरहित अस्पताल बनाउने बताउनुभयो । अष्ट्रेलियाको कम्पनीसँग सहकार्य गरेको यस समूहले यसअघि वीर अस्पताल र अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गरिसकेको छ, भने अहिले पशुपतिनाथमा पनि सरसफाइ गर्दैछ ।नेपाल सरकारको तीन सय र अस्पताल विकास समितिको तीन सय गरी छ सय श्यया सञ्चालन भएको यस अस्पतालमा दैनिक एक हजार ५०० को हाराहारीमा बिरामी बहिरंग सेवाका लागि आउने गर्दछन् ।